
काठमाडौं । रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो ।
घटनामा ६ जना सामान्य घाइते भएका छन् । त्रिवेणी गाउँपालिका कांग्रसबाट अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ ।
त्रिवेणी ९ बाट वडा नम्बर ५ जाने क्रममा ढुंगा प्रहार भएको थियो । माओवादीले भने जिल्ला कमिटी सदस्य चुडामणी बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेको दाबी गरेको छ । एकअर्काविरूद्ध ढुंगा हानाहानको खबर आएपछि प्रहरी पठाइएको थियो ।
जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनाबी तालमेल गरेका छन् । तर त्रिवेणी गाउँपालिकामा भने सबै दलहरु एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्