१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतदाता शिक्षामा हेलचेक्र्याँइ : गठबन्धनले मतदातालाई अन्योल, आयोग सामाजिक सञ्जालमै मख्ख


104
Shares

काठमाडौं । स्थानीय तहको चुनाव आउन एक हप्ता मात्र बाँकी छ । उम्मेदवारहरू घरदैलो अभियानमा तीव्रताका साथ जुटिरहेका छन् ।

लाखौं नयाँ मतदाता थपिएका छन् । तर, उनीहरूलाई मत कसरी दिने भनेर सिकाउने तर्फ कसैको ध्यान गएको छैन । स्वयं निर्वाचन आयोग नै विभिन्न कारण देखाएर पन्छिएपछि यसअघिको चुनावमा भन्दा धेरै मत बदर हुने सम्भावना प्रबल देखिएको छ ।

आसन्न स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि घरदैलो अभियान गरेको छैन । मतदाता शिक्षामा खर्च घटाएको आयोगले यो पटक सञ्चारमाध्यम र प्रविधिको प्रयोगमा जोड दिएको छ ।

प्रविधिलाई प्राथमिकता दिएको आयोग रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत श्रव्य दृश्य सामाग्री प्रशारण र सामाजिक सञ्जाल प्रयोग गरी मतदाता शिक्षा दिएको त दाबी गर्छ । तर, त्यसको प्रभावकारितामा प्रश्न उठेको छ ।

विगतमा भएका मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान असफल भएपछि नयाँ शैली अपनाइएको आयोगको भनाइ छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार घरदैलो अभियानको बारेमा प्रश्न उठेपछि त्यसलाई परिमार्जन गरिएको हो ।

तर, कतियप मतदातामा भने मतदान कसरी गर्ने भन्ने विषयमा अन्योल छ । पार्टीलाई भोट दिनुस् भन्ने मान्छेहरू आए पनि मतदान कसरी गर्नुपर्छ भनेर सिकाउनेहरू नआएको उहाँको भनाइ छ ।

यसपटकको निर्वाचनमा राजनीतिक दलहरू अधिकांश स्थानीय तहमा गठबन्धन गरेका छन् । कतै कांग्रेसले माओवादी केन्द्र त कतै एकीकृत समाजवादीसँग चुनावी एकता गरेका छन् । कतै एमालेको राप्रपासँग त कतै काँग्रेस र एमाले नै गठबनधन गरेर चुनावमा होमिएका छन् ।

गठबन्धनका कारण पनि यसपटक मतदानको समयमा मतदाता झुक्किन सक्ने र मत बदर हुने जोखिम बढेको छ । आयोगले दलहरूलाई आफ्नो पार्टीको चुनाव चिन्हका बारेमा मतदाताहरूलाई बेलैमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना सदस्य गरी ७ जनालाई मत दिनुपर्ने हुन्छ । एउटै पार्टीको व्यक्तिलाई मतदान गर्दा समस्या नपर्ने भए पनि गठबन्धनमा रहेकालाई मतदान गर्दा चुनाव चिन्ह तलमाथि हुने भएकोले धेरै मत बदर हुन सक्नेछ ।