१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सबै प्रकारका बिरामीको उपचार गर्न मानवअधिकार आयोगको आग्रह


0
Shares

काठमाडौं, चैत २३ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न वर्तमान विषम परिस्थितिमा उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण लाखौंको संख्यामा रहेका बिरामीहरू समस्यामा पर्न थालेकामा गम्भीर चिन्ता प्रकट गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गरी मिर्गौला, क्षयरोग, क्यान्सर, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्याजस्ता रोगहरुका बिरामीहरूले समयमै उपचार र औषधि नपाइएको भन्दै तत्काल कोभिड–१९ सहित सबै बिरामीको उपचार र औषधिको ग्यारेन्टी गरी सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले विज्ञप्तिमा विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु भएको, काठमाडौं उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरूले बहिरंग सेवा बन्द गरी सयौं बिरामीलाई फर्काएको, बिरामीहरूले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेकोजस्ता घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै देशभरका सबै अस्पताल, स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घन्टा खुलाउनसमेत सरकारलाई निर्देश गरेको छ ।

आयोगले अनुगमनका क्रममा कतिपय घरबेटीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको पाइएको उल्लेख गर्दै तत्काल यस्ता समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।