
सुर्यबिनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट बिदुरमान सिंह बस्नेतले उम्मेदवारी दिनु भएको छ । बस्नेतले विभिन्न बैंक तथा वित्तीय संस्थामा विभिन्न पद हुँदै महाकाली विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही कार्य गरिसक्नु भएको छ ।
यस्तै, बस्नेत २०४९ सालका भएको स्थानीय निर्वाचनमा सिपाडोल गाविसको अध्यक्ष पदमा निर्वार्चित हुनु भएको थियो । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सचिव र नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको जिल्ला अध्यक्ष रही कार्य गरी सक्नुभएका बस्नेत हाल गिरिजाप्रसाद कोइराला फाउण्डेन भक्तपुरका अध्यक्ष हुनुहुन्छ ।
स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका उहाँसँग इमेजखबरले गरेको कुराकानी :
तपाईको उम्मेदवार किन ?
– विगत ५ वर्षको एकाधिकारीवादी व्यवहारबाट पीडित सेवाग्राहीलाई चुस्त र पूर्वाग्राही रहित सेवा प्रदान गर्नु मेरो पहिलो उद्देश्य हुनेछ । साथै करदातालाई यथोचित सम्मान गरी हरेक विकास कार्यमा पारदर्शिता र अधिकतम जन–सहभागिता जुटाउने अर्काे ध्येय हुनेछ ।
स्थानीय तह कुनै पार्टी विशेषको संगठन विकास गर्ने निकायको रुपमा दुरुपयोग हुनु हुँदैन भन्ने मेरो ३ दशक अगाडिको मान्यतामा म अहिले पनि अडिग छु ।
चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?
– स्थानीय निर्वाचन घोषणा भएदेखि नै मैले वडाका अधिकांश स्थानको भ्रमण गरी खास व्यक्तिहरुसँग कस्तो व्यक्तिलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ ? भनेर राय बुझ्ने चेष्टा गरेको थिए । केहि मतदाताहरुले युवा उम्मेदवारको पक्षमा राय दिए पनि अधिकांशले सिपाडोललाई राम्रो सँग बुझेको र समस्या पहिचान गरी समाधान गर्न सक्ने योग्य र अनुभवी उम्मेदवार हुनु पर्ने र त्यस मध्य पनि धेरैले मलाई नै चुनावमा खडा हुन अनुरोध गर्नु भएको र वहाँहरुकै आशय बमोजिम नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाएको हुँदा स्वतः स्फूर्त रुपमा मतदाताहरु उत्साहित भएको मैले महशुस गरेको छु ।
“घर दैलो कार्यक्रम” लिएर मतदाता कहाँ जाँदा पाएको न्यानो माया र मतदाताको व्यापक सहभागिताले मैले चुनाव जिति सकेको ठानेको छु ।
तपाईको चुनावी एजेण्डाहरु के के छन् ?
– नेपाली कांग्रेसको केन्द्रीय घोषणापत्र लगायत जिल्ला, क्षेत्र, नगर र वडाको प्रतिज्ञा पत्र अनुसार कार्य गर्नु मेरो दायित्व हो । खासगरी सिपाडोलबासीले वडाबाट प्राप्त गर्ने सेवा सुविधा चुस्त दुरुस्त उपलब्ध गराउने र स्थानीय स्तरमा सञ्चालित शिक्षा र स्वास्थ्य प्रदान गर्ने संस्थाहरुलाई सेवाग्राहीको अधिकतम सहभागितामा सञ्चालन गरी गुणस्तरीय र निःशुल्क सेवा प्रदान गर्ने संस्थाको रुपमा सञ्चालन गराउने र वडाले सेवा प्रभावकारी भए/नभएको अनुगमन गर्ने मेरो योजना रहेको छ ।
स्थानीय आवश्यकता पहिचान गरी योजना छनोट गर्ने र सम्बन्धित उपभोक्ताहरुकै वास्तविक सहभागितामा पारदर्शिता अपनाई विकास कार्यहरु अगाडि बढाउने मेरो लक्ष्य रहेको छ ।
तपाईले चुनाव जित्ने आधारहरु के के हुन् ?
– कम्युनिष्ट सरकारको हावादारी गफ र प्रचारमुखी कार्यबाट वाक्क भएका जनताहरुले संस्थागत सुशासन कायम गर्न सक्षम र वास्तविक विकास गर्ने प्रतिनिधि खोजि रहेको अहिलेको अवस्थामा मेरो उम्मेदवारीले वहाँहरुको आकांक्षा पूरा भएको मैले ठानेको छु । आफूले विगतमा गरेको पारदर्शी र मितव्ययी विकास कार्य एवं मेरो आफ्नो आर्थिक अनुशासन र इमान्दारीयुक्त विगत बारे मतदाता स्वयंले गरेको सम्मान नै मेरो विजयको प्रमुख आधार हो ।
चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?
– आफ्नो वडाबासीहरुको लागि सुलभ र निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता हुनेछ । प्रकृतिमैत्री भौतिक विकास गर्दै सबैले स्वच्छ र शुद्ध खानेपानी र ढल व्यवस्थापनको सेवापाउने अवस्था सिर्जना गर्नु मेरो अर्काे दायित्व हो ।
आफ्नो गाउँ र टोलको विकास गर्न आफैं सक्षम हुनु पर्छ, त्यस्को लागि आर्थिक हिसाकले पनि सक्षम हुनुपर्छ । प्रत्येक घरको कम्तिमा एक जनाले रोजगारी पाउने वा स्वरोजगारको व्यवस्था गर्ने मेरो अर्काे प्रमुख दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्