२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भयो : रामचन्द्र पौडेल


221
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरु उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको हो ।

उहाँले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु भएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले प्रतिगामी शक्तिकाविरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै वदलिदो व्यवस्था अनुसार आफुलाई परिवर्तन गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतको जस्तो पार्टीहरुका बिचमा सिद्धान्तको लडाइँ नभएकाले देशको मुल समस्यालाई हेरेर एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदातालाई भोट हाल्न पनि सिकाउन जरुरी रहेको बताउनुभयो ।