१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलितलाई प्रमुख पद दिन राजनीतिक दलले गरे कन्जुस्याँई

राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारको गुनासो

117
Shares

नवलपरासी । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन ।

ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन् । दलित समुदायबाट गाउँपालिका र नगरपालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवार बनाउन ठूला दलले आनाकानी गरिरहेको समयमा पश्चिम नवलपरासीका केही साना दलले भने उदारता देखाएका छन। पश्चिम नवलपरासीमा कानूनले अनिवार्य गरेको आरक्षण कोटाबाहेक अन्य पदमा पनि साना दलहरुले दलित समुदायबाट उम्मेदवार बनाएका हुन् ।

पश्चिम नवलपरासीमा सात स्थानीय तह छन। दलितबाट प्रमुख-उपप्रमुखमा उम्मेदवारी दिएका पाँच पालिकामा नेकपा एमाले र माओवादी केन्द्रका एक-एक जनासहित साना दल र स्वतन्त्रबाट कुल ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवार उठाउन कन्जुस्याँई गरेको छ । दुई पालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी दिएकामध्ये सात जना महिला छन । जसमा एक जना मात्र महिला प्रमुख छन । अरु उपप्रमुखमा छन ।

दलितलाई उपल्लो पददिन नमान्नेमा जातीय कारणसँगै आर्थिक अवस्था पनि रहेको साना पदमा उठेका दलित उम्मेदवारको बुझाई छ । निर्वाचनबाट जिल्लाभर कुल ३ सय ८४ जनप्रतिनिधिहरु चुनिने छन। ७४ वडा रहेको जिल्लामा अनिवार्य गरिएका हरेक वडाबाट एक-एक जना दलित महिला सदस्य चुनिने छन । त्यसका लागि कुल ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

ठूला दलमध्ये माओवादी केन्द्रले सुस्ता गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाएको छ भने एमालेले सरावल गाउँपालिकामा उपप्रमुख उठाएको छ । कांग्रेसले कुनै पनि स्थानीय तहमा दलित उम्मेदवार उठाएको छैन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुको गुनासो छ ।

दलित समुदायबाट अन्य स्थानीय तहको प्रमुख-उपप्रमुखमा उम्मेदवार उठाउनेमा नेकपा एस, जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, जनता प्रगतिशिल पार्टी छन । एक प्रमुखपदमा स्वतन्त्रबाट उम्मेदवारी परेको छ । बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उम्मेदवारी परेको छैन ।

पैसाकै कारण चुनाव जित्न सकिन्छ भन्ने सोचेका कारण पनि दलित समुदायहरु पढेलेखेका भएपनि उनीहरुलाईपछि पारिएको पूर्वशिक्षिका गोमती परियारको बुझाई छ । त्यसैका कारण आफू उपप्रमुखको आकांक्षी रहेपनिपछि पारिएको उहाँको गुनासो छ ।

जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरि कुल २१ सय ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।