
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद छलेर संविधानलाई अपदस्थ बनाउने खेलका नायकलाई परास्त गर्न आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्ध उठेका बागी उम्मेदवारलाई साधारण सदस्यताबाट नै कारबाही गर्ने चेतावनी दिँदै गठबन्धनको विरुद्धमा बोल्ने नेता कार्यकर्ताहरूलाई समेत कारबाही गर्ने बताउनुभयो ।
मधेशको नागरिकता समस्यालाई गठबन्धनकै जोडबलमा समाधान गरिने भन्दै उहाँले नागरिकताविहीन नेपालीलाई नागरिकता गठबन्धन दलले नै प्रदान गर्ने बताउनुभयो । मधेशको समग्र विकासका लागि गठबन्धन तत्पर रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई बचाउन दिनरात मेहनत गरेर गठबन्धन बनाएको भन्दै त्यसको रक्षाको जिम्मेवारी नेपाली जनताको काँधमा आएको बताउनुभयो ।
‘हजारौं शहीदको रगतबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लाग्ने नेकपा एमालेलाई हामी परास्त गर्न सफल भयौं,’ उहाँले भन्नुभयो, ‘अब संस्थागत गर्ने जिम्मा नेपाली जनताको जनताको हातमा रहेकोले आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दललाई जिताउन जरुरी छ ।’
त्यस्तै, कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको संस्थागत र संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलका उम्मेदवारलाई जिताए यहाँ विकासको लहर चल्ने दाबी गर्नुभयो ।
चुनावी सभा कार्यक्रमलाई प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, माओवादी नेता गणेश साह, कांग्रेस सह सचिवद्वय महेन्द्र यादव र भीमराज आंगदाबे समेतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्