
काठमाडौं । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सी १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो ।
पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेको सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले जानकारी दिनुभयो ।
पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको उहाँले बताउनुभयो ।
यसरी पक्राउ परेका यादव र सिंहलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको मगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्