१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा आरोहण सुरु


65
Shares

काठमाडौं । यस वर्ष सगरमाथा हिमाल आरोहण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने काम सफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि शुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिनुभयो ।

निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताउनुभयो । सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ ।

अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ । सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेका हुन् । अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ लिएका छन् । रमाथा आरोहणबाट मात्रै रु ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ ।