
काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । केही वर्षअघि इजिप्टबाट सुरु भएको यो दिवस नेपालमा भने यस वर्षदेखि मनाउन थालिएको हो । नेपालमा पशु अधिकारवादी संस्था एनिमल नेपालले यसको सुरुवात गरेको हो ।
एनिमल नेपालले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी श्रममा प्रयोग गरिने गधालाई मानव मजदूरसरह सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ ।
गधालाई हिमाली तथा पहाडी क्षेत्रमा विभिन्न प्रकारका सामान ओसार–पसारका लागि कडा परिश्रम गराइने भए पनि उनीहरुलाई उचित आराम, आहार तथा वासस्थानको राम्रो व्यवस्था नभएको पाइएको संस्थाले जनाएको छ । गधालाई नेपालका अधिकांश इट्टा भट्टामा इट्टा ओसार्ने काममा समेत प्रयोग गर्ने गरिएको छ ।
एनिमल नेपालमा कार्यरत डा. अतिश यादवले घोडा प्रजातिका गधा, खच्चरले यातायात क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिँदै यसको अवमूल्यन गर्न नहुने बताए ।
उनले गधाका लागि भोक–प्यासबाट मुक्ति, डर–त्रासबाट मुक्ति, चोटपटकबाट मुक्ति तथा उपचारको व्यवस्था, उचिव आवासको व्यवस्थाका साथै एक ठाउँबाट अर्को ठाउँमा सवारी साधनमा राखेर लैजाँदा ओसारपसारको मापदण्डअनुसारको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र अशक्त भएपछि छाडा छाड्ने प्रवृत्तिले गधा तथा खच्चर सडक दुर्घटनामा पर्नुका साथै वंशविनाश हुनेसम्मको समस्या पर्ने भएकाले यसको संरक्षणका लागि सरकारले उचित नीति तर्जुमा गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको छ ।
संस्थाका अनुसार हाल नेपालमा एक लाखभन्दा बढी गधा, खच्चर ढुवानी व्यवसायका लागि प्रयोगमा रहेका छन् ।
संस्थाले समस्यामा परेका, घाइते, बूढा भइसकेका गधा तथा खच्चरलाई राख्नका लागि ललितपुरमा स्याहार केन्द्रको स्थापना समेत गरेको छ । दिवसका अवसरमा संस्थाका तर्फबाट गधालाई विशेष आहार खुवाइएको थियो ।
सामान्यतया विश्वका सबै राष्ट्रहरुमा गधालाई सामान ढुवानी गर्न तथा कृषि प्रयोजनका लागि पाल्ने गर्दछन् । तर केही राष्ट्रहरुमा भने दुग्ध तथा मासु उत्पादनका लागि पनि पाल्ने गरेको पाइन्छ ।
छिमेकी मुलुक भारतमा गधाको दुध सबैभन्दा महँगो मूल्यमा बिक्ने गरेको छ । अत्यधिक पौष्टिक तत्वका कारण नवजात शिशुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको दुधप्रति आकर्षण बढ्दै गएको छ ।
भारतमा १ लिटर गधाको दुधका लागि भारु २ हजार रुपैयाँ पर्ने गर्दछ । एउटा गधाले २४ घण्टामा २५० मिलिलिटर दुध दिने गर्दछ । यस्तै विश्वका धेरै मुलुकमा हरेक वर्ष सुन्दरी प्रतियोगिता हुने जस्तै कोलम्बियामा भने गधा सुन्दरी प्रतियोगिता आयोजना हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्