
संखुवासभा । स्थानीय तह निर्वाचनका लागि संखुवासभामा सत्ता गठबन्धन, नेकपा एमाले र साना दल चुनावी प्रचारमा व्यस्त भएका छन् ।
आफ्नो पक्षमा जनमत पार्न उम्मेदवारहरू रातदिन र झरी बादल नभनी मतदाताको घरदैलो धाउन थालेका छन् । मनोनयन दर्तासँगै चुनावी अभियान केन्द्रीत संखुवासभाका दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
कांग्रेससहितका गठबन्धनले चीनसँग सीमा जोडिएको किमाथांका हुँदै भोटखोलामा उम्मेदवारसहित घरदैलो गरेर प्रचार अभियानमा छन् । प्रचारका लागि धेरै दिन नभएकाले घरदैलो अभियानलाई फैलाइएको कांग्रेस संखुवासभाका सभापति दीपक खड्का बताउनुहुन्छ ।
नेकपा एमाले र साना दलका उम्मेदवार पनि समुह विभाजन गरेर प्रचारमा जुटेका छन् । प्रचार अभियानमा जुटेकाहरू नाचगान गरेर मतदाता फकाउन लागि परेका छन् । नेकपा एमालेले पनि गाउँ–गाउँमा आफ्नो प्रचारलाई तीव्र पारेको छ ।
प्रचारलाई तीव्रता दिएकाले जित पनि आफ्नै हुने एमालेका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे दाबी गर्नुहुन्छ ।
१० स्थानीय तह रहेको संखुवासभामा ७ स्थानीय तहमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।
राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवारलाई भोट माग्न व्यस्त छन्, भने मतदाता पनि कस्तो व्यक्ति छान्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । संखुवासभामा १६ दल दर्ता भए पनि १२ वटा दलका ९ सय ७० जना उम्मेदवार मात्रै चुनावी मैदानमा छन् ।
चुनावी नारा सबै दलका आकर्षक भएकाले मतदाता पनि कुन दल छनोट गर्ने भन्ने अन्योलमै छन् ।
प्रतिक्रिया दिनुहोस्