
विराटनगर । स्थानीय निर्वाचन जति नजिकिँदो छ, विराटनगरको निर्वाचनको माहोल पनि त्यति नै तातिँदै गएको छ ।
कोइराला परिवारको विरासतको रुपमा रहेको यो महानगरपालिकालाई राजनीतिक दलले पनि महत्वका साथ हेरेका छन् ।
काठमाडौ महानगरपालिकाकै हाराहारीमा रहेको यो महानगरपालिकाको निर्वाचनलाई मुख्य गरेर नेपाली कांग्रेसले आफ्नो विरासत ठान्दै आएको छ भने नेकपा एमाले पनि महानगरको नेतृत्व हत्याउडे होडमा छ ।
विरासत जोगाउने चुनौती लिएर कांग्रेसबाट नागेश कोइराला मेयरको दौडमा हुनुहुन्छ । उहाँसँगै जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उपमेयरमा तालमेल गर्नुभएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरमा कांग्रेस–एमालेलाई टक्कर दिने संघीय समाजवादी फोरम र माओवादीका उम्मेदवार पुनः अघोषित गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । यसको प्रत्यक्ष असर सत्ता गठबन्धन भनिएको कांग्रेस र जसपाका उम्मेदवारलाई पर्ने देखिन्छ ।
यसबाहेक राप्रपा नेपालले पनि विराटनगरको मेयरको उम्मेदवारी परेको छ । मेयर पदमा प्रल्हाद साहले उम्मेदवारी दिए पनि प्रचारप्रसारमा त्यति धेरै सक्रियता देखिएको छैन ।
कांग्रेसले अन्य दलको भन्दा आफ्नो चुनाव प्रचारप्रसार अग्रस्थानमा रहेको दाबी गरेको छ । मेयरका उम्मेदवार कोइराला आफूले जित्नेमा आशावादी हुनुहुन्छ । साथै मेयर भएपछि आफू पनि एक रुपैयाँ अपचलन नर्गे र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता जाहेर गर्नुहुन्छ ।
एमालेबाट मेयरमा अघि सारिएका सागर थापा र उपमेयर शिल्पा निरौला कार्की एकल दौडमा देखिएका छन् । उनीहरूसँग कुनै उल्झन छैन ।
एमाले उमेदवारका लागि भने यो चुनाव फलामको चिउरा सरह बनेको छ । दुवै उम्मेदवार विराटनगरका सबै खाले मतदातासम्म पुग्ने जमर्को गर्दै घरदैलोमा व्यस्त छन् ।
विराटनगरमा २०७४ मा मेयर निर्वाचित कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत र उपमेयर इन्दिरा कार्कीले २० हजार १४६ मत पाउनुभएको थियो ।
एमालेका विनोद ढकालले १७ हजार ३२१ र लोकतान्त्रिक फोरमबाट उपमेयर बनेकी सुची चौधरीले १० हजार ५३६ मत ल्याउनुभएको थियो ।
कांग्रेसलाई त्यसबेलाको लोकतान्त्रिक फोरमको साथ थियो । सो समूह पनि अहिले कांग्रेसमा समाहित हुँदा त्यहाँबाट पनि उसलाई फाइदै पुग्ने देखिन्छ । त्यस बाहेक राप्रपाको सुनिल थापा समूह समेत कांग्रेसमै समायोजन भएको छ ।
विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १ सय ४२ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्