
काठमाडौं, चैत्र २५ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या रोेकिएको छ । कोभिड–१९बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको नेशनल हेल्थ कमिशनले दिएको जानकारीलाई उधृत गर्दै समाचारहरुमा भनिएको छ, ‘पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन ।’
कोरोना भाइरसबारे चीनले तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक भएको जनाइएको छ ।
यसैबीचले चीनले भाइरस निस्किएको शहर वुहानमा लगाइएको भ्रमण प्रतिबन्ध हटाउने तयारी पनि गरिरहेको छ । अझ कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेपछि उसलाई राहत मिल्नेछ ।
भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा बुधबारदेखि लकडाउन पूर्णरुपमा खुलाइने निर्णय गरिएको छ ।
पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ मात्र संक्रमित फेला परेको र तिनिहरु सबै बाहिरबाट आएका मानिस भएको जनाइएको छ ।
चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेको छ । जसमा ७७ हजार एक सय ६७ जना निको भएका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ ।
चीनमा अब जम्मा एक हजार दुई सय ४२ जना मात्र कोरोना भाइरसका बिरामी बाँकी रहेको जानकारी दिइएको छ । तीमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्