१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरससम्बन्धि स्वास्थ्य सामग्री खरिद प्रकरणमा उठेका प्रश्नहरुको बचाउ गरेका छन् ।

उनले यससम्बन्धमा उठेका सार्वजनिक प्रश्नहरुलाई ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा’ को संज्ञा पनि दिएका छन् ।

केही समयअघि चीनबाट कोरोना भाइरस रोकथाम र उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरिएको भन्दै आफ्नै मन्त्रिपरिषदका सदस्यहरुमाथि सार्वजनिक रुपमा प्रश्न उठेपछि उनले बचाउ गरेका हुन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने जिकीर पनि गरे ।

उनले कामै गर्न नसक्ने र  प्रक्रिया नै शुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यानुपर्ने बताए ।

सम्बोधनमा उनले भने, ‘त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।’

यसअघि सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने जिम्मा ओम्नी इन्टरनेशनललाई दिँदा बजार भाउभन्दा ४८ गुणासम्म बढी तिरेको भन्दै सरकारको तीब्र आलोचना भएको थियो ।

पछि स्वयं सरकारले उसलाई दिएको ठेक्का रद्द गर्दै नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने निर्णय गरेको छ ।

पाँच वर्षअघिमात्र भूकम्पको पीडा ब्यहोरेको नेपाली समाज त्यो पीडाबाट उठ्न नपाई अर्को संकटमा फसेको भन्दै उनले सबैको साथबाट यस संकटबाट पनि पार पाउन सकिने विश्वास देखाए ।