
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताउनुभएको छ ।
मंगलबार मतदातालाई अपिल जारी गर्दै प्रधनमन्त्री देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि उहाँले विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार नागरिकको हातमा आएको बताउनुभयो ।
स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । तर, नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको उहाँको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्