१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की

'ओलीकाे सरकार भएकाे भए देश श्रीलंका भइसक्थ्याे'

975
Shares

सुनसरी । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झुटा सपना बाड्न माहिर रहेको आरोप लगाउनुभएको छ ।

मंगलबार सुनसरीको धरानमा आयोजित सत्ता साझेदार गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभयो ।

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।

ओली संसद विघटन गर्ने प्रतिगामी र जनविरोधी भएकाले उनको विश्वास गर्ने आधार कार्कीले बताउनुभयो । गठबन्धनका उमेदवारले जिते मात्र देशको विकास हुने दाबी गर्नुभयो ।

मन्त्री कार्कीले धरानमा गत उपनिर्वाचनमा नै कांग्रेसले नेकपालाई पराजित गरेको स्मरण गर्दै निर्वाचनमा गठबन्धन ले सहज रूपमा विजय हासिल गर्ने बताउनुभयो ।

गठबन्धनको तर्फबाट धरानको मेयर र उपमेयर पदका प्रत्यासी किशोर राई र अइन्द्रविक्रम बेघाले गठबन्धनका उमेदवारलाई जिताए जनताको सेवक बनेर धरानको विकास र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।