१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


एमालेको जित सुनिश्चित भइसक्यो : अध्यक्ष ओली


143
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नुभयो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले संसद विघटन गर्दा कांग्रेसको सदर गर्ने र आफ्नो पार्टीको बदर गर्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आफ्नो पार्टीले अदालत सम्मानित होस् भन्ने चाहे पनि पार्टीको कार्यकर्ता न्यायाधीश हुने र सोही पार्टीको आदेश अनुसारको फैसला आउने गरेको जिकीर गर्नुभयो ।

अध्यक्ष ओलीले देशभर आफ्नो पार्टीको पक्षमा जनमत रहेको उल्लेख गर्दै त्यसको संरक्षण गर्ने काममा चनाखो रहनु पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने उहाँको भनाइ छ ।

यसअघि बोल्नुभएका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरू विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनुभएको थियो ।

कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादी)का सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नुभएको थियो ।