
काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचन अन्र्तगत मंगलबार चुनावी प्रचारप्रसारको अन्तिम दिन हो । चुनावी प्रचारको अन्तिम समय दलका नेता, कार्यकर्ता र उम्मेद्वारहरूले मतदाता रिझाउन अन्तिम धक्का दिएका छन् ।
मौन अवधिमा दल तथा उम्मेदवारहरूले चुनावी प्रचार गर्न, मत माग्न, सार्वजनिक कार्यक्रम गर्न वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि नपाउने भएपछि मंगलबार राजनीतिक दलका शीर्ष नेता र उम्मेदवारले निर्णायक प्रचार गरेका हुन् ।
विराटनगरबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तिम दिन गृहजिल्ला डडेल्धुरामा व्यस्त रहनुभयो । अमरगढी र परशुराम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवाले कार्यकर्तासँगको भेटघाटलाई तीब्रता दिनुभयो ।
डडेल्धुरामा कांग्रेसभित्र देखिएको विवाद समाधान गरेर पार्टीका आधिकारिक उम्मेदवार जिताउनुपर्ने दबाब सभापति देउवालाई छ । कांग्रेस उम्मेदवार जिताउन उहाँले प्रदेश सदरमुकाम डडेल्धुरा सार्ने सम्मको अस्त्र मिल्काउनुभयो ।
चुनावी प्रचारको अन्तिम दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निकै व्यस्त रहनुभयो । बिहान उत्तरी मोरङको मिक्लाजुङस्थित मधुमल्लामा आयोजित चुनावी सभामा भाग लिएर ओली गृहजिल्ला झापा पुग्नुभएको थियो ।
झापाका गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र दमकमा आयोजित चुनावीसभमा सहभागी भएर अध्यक्ष ओली काठमाडौंको भृकुटीमण्डमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न भ्याउनुभयो ।
सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको अन्तिम दिन आज विभिन्न चुनावीसभामा सक्रिय रहनुभयो ।
बैशाख ११ र १२ गते उम्मेद्वारी मनोनयन दर्ता गरेसँगै चुनावी प्रचारप्रसारमा होमिएका राजनीतिक दलका नेता, उम्मेद्वार र कार्यकर्ता मंगलबार अन्तिम चुनावी धक्कामा व्यस्त रहे । मौन अवधि सुरु भएसँगै राजनीतिक दलका नेता तथा उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमै राख्न निर्वाचन स्थलसम्म पुर्याउने लगायतका रणनीतिमा व्यस्त हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्