
पोखरा । स्थानीय तह निर्वाचनको लागि कास्कीमा कर्मचारीहरू निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ लागेका छन् ।
कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ गएका हुन् । कर्मचारीहरू बुधबारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।
निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङचोकस्थित जिल्ला निर्वाचन कार्यालय र सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो ।
कर्मचारी अभावका कारण व्यवस्थित गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताउनुभयो ।
५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार जना कर्मचारी परिचालित भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्