
काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले मतदान प्रक्रियाको व्यवस्थापनलाई चुस्त बनाउन सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन बैशाख ३० गते पानी पर्ने सम्भावना रहेको भनेपछि उनीहरूले निर्वाचन सामग्रीको संवेदनशील भएर व्यवस्था गर्न आग्रह गरे । मतदाता शिक्षाको कमीले धेरै मत बदर हुने चिन्ता पनि उनीहरूमा छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ९१ लाख ९२ हजार ४ सय ८० मतदाताले मतदान गर्न पाउने छन् । ६ महानगरपालिका, ११ उपनगरपालिकासहित नगरपालिका, र गाउँपालिकामा ७९ दलले आफनो उम्मेदवार उठाएका छन् ।
अहिलेको निवार्चन पहिलेको भन्दा शान्तिपूर्ण रूपमा हुनेमा सबै पक्ष विश्वस्त देखिएका छन् । मतदाताहरूले उत्साहपूर्ण रूपमा मतदान गर्ने अनुमान गएिको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ विगतको निर्वाचन भन्दा मतदानको प्रतिशत बढ्ने आँकलन गर्नुहुन्छ । तर, पानी पर्ने सम्भावनाले मतदाता घट्नसक्ने उहाँको चिन्ता छ ।
कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ पनि मतदान प्रतिशत बढ्ने बताउनुहुन्छ । यद्यपि, गठबन्धनका कारण मतपत्र बदर हुने खतरा पनि उत्तिकै रहेको उहाँको भनाइ छ ।
सबै दलहरू स्वतन्त्र उम्मेदवारको रुपमा भए पनि निर्वाचनमा सहभागी भएकाले अहिलेको निर्वाचन विशेष भएको उहाँको भनाइ छ ।
निर्वाचनका दिन पानी पर्ने भएकाले मतदातालाई मतदान केन्द्रमा पुर्याउने, मतपत्र र मत पेटिकाको सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने श्रेष्ठको सुझाव छ । त्यस्तो अवस्थामा निर्वाचनलाई एकछिन रोकर पुनः मतदानको समय थप गर्नुपर्ने उहाँको सुझाव छ ।
अहिलेसम्मको स्थिति हेर्दा दलका नेता तथा कार्यकर्ताहरूले देखाएको संयमताको पनि गुरुङ प्रशंसा गर्नुहुन्छ । विगतमा एक अर्कासँग हिंसात्मक झडपमा उत्रन पछि नपर्ने दलहरूले साझा मोर्चा बनाएकाले पनि निर्वाचन प्रक्रिया शान्तिपूर्ण हुने उहाँको ठम्याइ छ ।
दलहरुमा अस्तित्वका लडाईं भएकाले निषेधको राजनीति गर्नसक्ने उहाँको आशंका छ । त्यसका लागि निर्वाचन आयोग, मुख्य निर्वाचन अघिकृत र सुरक्षा निकायले ध्यान दिन उहाँको सुझाव छ ।
धेरै दल, धेरै उम्मेदवार भएकाले पनि मतदातालाई मतदानमा केही अलमल हुने देखिन्छ । निर्वाचनमा हुने मत बदरको संख्या क्रमशः घट्दै जानुपर्नेमा बदर मतको संख्या बढ्छ कि भन्ने विषय सोचनीय छ । यसका लागि अबको केही घण्टा आयोगले सदूपयोग गर्नु उपयुक्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्