
काठमाडौं । सडक यातायात मात्र होइन, मतदानका लागि आवतजावत गर्ने क्रम बढ्दा हवाई सेवामा पनि उत्तिक्कै चाप परेको छ ।
निजी हवाई कम्पनीहरूले अतिरिक्त उडान थपेर यात्रुको माग धानिरहेका छन् । यताबाट जाने मात्र हैन काठमाडौं उपत्यकाभित्रका मतदाता फर्कने क्रम पनि उत्तिक्कै छ ।
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप थेगिनसक्नु छ । त्यहाँ देखिएका अधिकांश मानिस भोट हाल्नकै लागि बाहिरिन लागेका हुन् ।
मताधिकारप्रति मतदाता कति सचेत छन् भन्ने विषय आन्तरिक टर्मिनलको दृश्यले पनि पुष्टि गर्छ । पाँच वर्षमा आउने जनअधिकारबाट चुक्न नहुने मान्यता उनीहरूको छ ।
आफ्नो विवेकपूर्ण निर्णयसँग देशको भविष्य जोडिएकाले सतर्क हुनुपर्ने कतिपय मतदाताको मान्यता छ । एक मतले हारजितमा समेत असर गर्ने भएकाले मतदानका लागि जान लागेको उनीहरूको भनाइ छ ।
पार्टी सबै हेरिसकिएकाे भन्दै व्यक्ति हेर्नुपर्नेमा मतदाताकाे प्रतिक्रिया छ । उनीहरू युवा र स्वतन्त्र उम्मेदवार अधिकांशकाे राेजाइमा परेका छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाबाहेक नेपालमा अहिले ९ वटा निजी वायुसेवा कम्पनीले आन्तरिक उडान भरिरहेका छन् ।
अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।
पाँच वर्षसम्म आफ्ना जनप्रतिनिधिप्रति असन्तोष पोख्ने मतदातामा निर्वाचनप्रति देखिएको सम्मान भने मननयोग्य छ । यद्यपि जनप्रतिनिधिप्रति उनीहरूको असन्तुष्टि भने कायमै छ ।
प्रतिक्रिया दिनुहोस्