१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


दि आर्ट लिभिङले विपन्न परिवारलाई राहत वितरण


0
Shares

साँखु, चैत २५ । दि आर्ट लिभिङ नेपाल च्याप्टरले शङ्खरापुर नगरपालिकालाई ५०० प्याकेट खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

गुरु रविशङ्करद्वारा स्थापित दि आर्ट लिभिङको नेपाल च्याप्टरले कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूर वर्गका उपभोक्तालाई सहयोग पुगोस् भनेर राहत वितरण गरेको नेपाल च्याप्टरका संयोजक तथा सभासद् विमल केडियाले बताए ।

१० देखि १५ दिनसम्म पुग्ने गरी वितरण गरेको उक्त राहत प्याकेटभित्र चामल, दाल, चिउरा, नुन, तेल गरी प्रतिप्याकेट रु. एक हजार ५०० मूल्य बराबरको सामग्री  छ ।

मंगलबारमात्रै शङ्खरापुर नगरपालिकाको सहकार्यमा वडा नं ५ पालुवारीमा रहेका १४५ विपन्न रिवारलाई नगरका प्रमुख सुवर्ण श्रेष्ठ, संयोजक केडिया तथा वडा अध्यक्षको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरभित्र रहेका निम्न आर्थिक अवस्था भएका, दैनिक ज्यालादारीबाट गुजारा चलाउने विपन्न परिवारको छनोट गरी राहत वितरण गरिने बताए ।

श्रेष्ठले दि आर्ट लिभिङको नेपाल च्याप्टरले खाद्यन्न सहयोग गरेकाले नगरभित्रका विपन्न परिवारलाई वितरणको लागि ठूलो राहत मिलेको बताए । श्रेष्ठले नगरपालिकाभित्र दुईहजार विपन्न परिवारको पहिचान भएको र उनीहरुलाई राहत वितरणको कार्यक्रम पनि शुरु भइसकेको जानकारी दिए ।

नेपाल च्याप्टरका अध्यक्ष एसके सिंहसहितको पहलमा सरकरले घोषणा गरेको लकडाउनपछि उक्त संस्थाले उपत्यकाभित्रको विभिन्न नगरपालिकामा सहयोग गर्दै आइरहेको छ ।

स्थानीय तहको सहकार्यमा सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा काठमाडौँ महानगरपालिकाको विभिन्न वडामा गरी दुईहजार ३०० परिवारलाई खाद्यान्नसहितको राहत वितरण गरिसकेको छ ।

त्यस्तै नगरपालिकाले कोरोनाको रोकथामको लागि नगरभित्रका इन्द्रेणी, साँखु, जहरसिंहपौवाका विभिन्न स्थानमा ३० कक्षको क्वारेन्टाइन बनाएको छ 

शङ्खरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले भन्नुभयो, “कोरोनाको आशङ्कासहित आएका सर्वसाधरणलाई राख्न विभिन्न होटलको सहकार्यमा सुविधायुक्त ३० कक्षको क्वारेन्टाइन निर्माण गरेका र्छौं ।” त्यस्तै सुषमा कोइराला र पिपुल्स लाइफ केयर अस्पतालमा आठ आइसोलेसन वार्ड राखिएको छ ।

नगरभित्र हालसम्म कोही पनि कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा रहेको सूचना छैन । क्वारेन्टाइन र आइसोलेसन खाली छ । संक्रमितको केही त्यस्तो जानकारी आएमा तत्कालै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार गर्ने खतिवडाले बताए । रासस