१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ट्रम्पको आक्रोश डब्लुएचओमाथि, सहयोग रोक्ने चेतावनी, गलत सूचना दिएको आरोप


0
Shares

एजेन्सी, चैत्र २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)माथि बर्षिएका छन् ।

कोरोना भाइरसको आकाशिँदो संक्रमणका कारण हायल कायल बनेका ट्रम्पले आफ्नो निशाना विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) माथि साँधेका हुन् ।

उनले डब्लूएचओले आफूलाई गलत सूचना दिएको मात्र आरोप मात्र लगाएका छैनन्, डब्लूएचओका अधिकारीहरुले चीनको पक्षमा काम गरेको आक्षेप नै लगाएका छन् ।

आक्रोशित ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि डब्लूएचओले कमजोर प्रयास गरेको भन्दै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको प्रेस ब्रिफिङ्गमा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’
डब्लूएचओका अधिकारीहरुले कोरोनाको विषयलाई खराब तरिकाले ह्याण्डल गरेको आक्षेप लगाउँदै ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप लगाए ।

अमेरिकामा अहिले विश्वमै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् भने १२ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

आफ्नो प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्न पर्याप्त काम गर्न नसकेको अभियोग छल्न ट्रम्पले त्यसको निशाना डब्लुएचओप्रति साँधेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले टिप्पणी गरेका छन् ।