
काठमाडौं । एकातिर चुनावका लागि घर फर्कनेहरूले जसरी सुःखद समाचार दिएका छन्, त्यसैगरी चुनावको एक दिनअघि मुलुक छोड्नेहरूको बाध्यता कम दर्दनाक छैन ।
आफ्नो परिवार, सन्तति मात्र होइन मुलुककै भाग्य र भविष्य निर्धारण गर्नका लागि जनप्रतिनिधि चुन्ने क्षण स्वयं युवाहरूको प्राथमिकतामा किन परेन त ? उनीहरूको एउटै उत्तर छ– बाध्यताले यस्तै बनायो ।
काठमाडौंका बसपार्कहरूमा गाउँ गएर जनप्रतिनिधि छान्ने उत्साहको समाचार छापिरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको दृश्य भावनात्मक छ ।
ऋणपान गरेर परिवारको चुल्हो बाल्न आफूहरू छातीमा ढुंगा राखेर विदेशिनुपरेको उनीहरू बताउँछन् । परिस्थिति आफ्नो नियन्त्रणमा भइदिएको भए चुनाव छोडेर जाने इच्छा नरहेको उनीहरूको भनाइ छ ।
यसअघि जनप्रतिनिधि छानेर जनताले केही नपाएको गुनासो गर्ने केही युवा भने चुनावभन्दा पारिवारिक दायित्व महत्वपूर्ण रहेको ठान्छन् ।
‘यसअघि पनि धेरै नेताहरू छानेकै हो, उनीहरूले देशमै रोजगारीको अवसर मिलाएको भए हामी किन बाहिरिनुपर्थ्यो ?’ विदेशिनलागेको एक युवा प्रश्न गर्छन्, ‘देशको भविष्यभन्दा ठूलो परिवारको भोक हुँदो रहेछ ।’
विमानस्थलमा भेटिएका अधिकांशले मतदानप्रति सचेत रहे पनि परिस्थिति प्रतिकूल रहेको दुःखेसो गरेका छन् । मतदान गर्नुपर्छ भन्ने बुझेका युवाहरू पनि टिकट र भिसाका कारण सहभागी हुन नपाएको बताउँछन् ।
पाँच वर्षपछि आम मतदाताले पर्वका रूपमा स्वीकारेको चुनावमा यी युवाले भोग्नुपरेको वियोगान्त अवस्था साँच्चै दर्दनाक छ ।
प्रतिक्रिया दिनुहोस्