१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मतदाता शिक्षाको अभावले धेरै मत बदर हुन्छ’

आयोगले गरेन घरदैलो कार्यक्रम, राजनीतिक दल र सामाजिक सञ्जालकै भर

104
Shares

सुनसरी । निर्वाचन आयोगले मतदाता शिक्षा लागू नगरेका कारण सुनसरीका मतदाता शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मत हाल्न अझै अन्योलमा छन् ।

टोल–टोलमा मतदाता शिक्षा लिएर आउने निर्वाचन कार्यालयका कर्मचारीहरू यस पटक मतदाताको घरदैलोमा नजाँदा मतदातामा मतदान गर्ने विषयमा अन्योल छाएको हो ।

सदा झैँ नमुना मतपत्र लिएर मतदाताको घरदैलोमा आउने निर्वाचन आयोगका कर्मचारीहरू मतदाता शिक्षा कार्यक्रम लिएर घर–घरमा नआउँदा यस पटक धेरै मत बदर हुने देखिएको छ ।

निर्वाचनमा धेरै ठाउँमा विभिन्न दलहरुले गठबन्धन गरि सिट विभाजन गरि उम्मेदवार उठाएकाले पनि धेरै मत बदर हुने देखिएको छ ।

धरान–१५ का ७५ वर्षीय कर्णबहादुर गुरुङ आफूलाई मतदान गर्न अझै अन्योल रहेको बताउनुहुन्छ । मतदाता शिक्षा दिन कोही पनि नआएका कारण आफूले हालेको मत बदर हुने हो कि भन्ने उहाँलाई चिन्ता छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई टेलिभिजन र सामाजिक सञ्जालमा मात्र सीमित पार्दा धेरै मतदाताहरु समस्या परेका छन् ।

यद्यपि राजनीतिक दलहरुले भने मतदाता शिक्षाका लागि आफूहरुले सक्दो प्रयास गरेको बताएका छन् । मतदाताहरुलाई नमुना मतपत्र मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गराएर सचेत गराएको नेकपा (एमाले) धरानका इन्चार्ज नारायण सुवेदीको भनाइ छ ।

सुवेदीले आयोगलाई दोष दिँदै मतदाता शिक्षा कार्यक्रम घरदैलोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । आयोगले गत स्थानीय निर्वाचनमा झैँ मतदाता शिक्षा नगरेर ठूलो कमजोराी गरेको उहाँको भनाइ छ ।

कांग्रेस महासमिति सदस्य पर्वत राई पनि निर्वाचन आयोगलाई दोष दिनहुन्छ । यद्यपि सुनसरीका १२ वटै स्थानीय निकायमा कार्यकर्ता परिचालन गरी नमुना मतपत्र मार्फत् भोट हाल्ने सही तरिकाको बारेमा सिकाइएको बताउनुहुन्छ ।

यता, निर्वाचन आयोग भने मतदाता शिक्षा कार्यक्रमको लागि पर्याप्त बजेट नभएको बताउँछ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालयले नै घरदैलो कार्यक्रम राखेको छैन ।

आयोगले आफ्नो सामाजिक सञ्जालमार्फत विभिन्न भिडियोहरु राखे पनि घरदैलोमै पुग्ने बजेट नआएको उहाँको भनाइ छ । यसकारण पनि यसपटक धेरै मत बदर हुने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।