२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


६५ लाख मतदाता मतदानबाट बञ्चित, देशमै भएका पनि लाखौं छुट्ने


1.963k
Shares

काठमाडौं । घरदेशमै रहेर पनि बाध्यतावश मतदाता नामावली रहेको आफ्नो थातथलो पुग्न नसकेका लाखौं मतदाता मतदानबाट वञ्चित भएका छन् ।

आफ्नै भूमिमा आफूहरू अनागरिक हुनुपरेको पीडाले उनीहरूलाई घोचेको छ । अब हुने चुनावमा जहाँ रहे पनि मताधिकार सुरक्षित गरिदिन मतदानबाट वञ्चित मतदाताले आग्रह गरेका छन् ।

यसपटकको निर्वाचनमा देश विदेशमा रहेका झण्डै ६५ लाख मतदाता मतदान गर्नबाट बञ्चित भएको तथ्याङ्क छ । यसमध्ये कुल जनसंख्याको २० प्रतिशत अर्थात ६० लाख जनसंख्या विदेशमा छ ।

नेपालमा रहेकामध्ये मतदानमा खटिने ३ लाख कर्मचारी र २ लाख ५० हजार सुरक्षाकर्मीले मत हाल्न पाउँदैनन् । तर, तथ्याङ्कमा उल्लेख भएका बाहेक अरु धेरै नागरिक मतदाताबाट बञ्चित हुने देखिएको छ ।

काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गर्दै आएका, पेशा व्यवसायमा आबद्ध, विभिन्न रोजगारीमा संलग्न नागरिक मत हाल्न पाउने नागरिक अधिकारबाट वञ्चित भएका छन् ।

कतिपय मानिसमा मतदाता नामावली नाम छुटेको चिन्ता छ । कतिपय पायक पर्ने ठाउँमा मतदानको अवसर पाउनुपर्ने माग राख्छन् ।

काठमाडौं उपत्यकामा भेटिएका कतिपय नागरिक मत हाल्ने इच्छा नै नभएको बताउँछन् । जिताएका जनप्रतिनिधिहरूले आफ्नो समस्या नबुझेको उनीहरूको दुःखेसो छ ।

जनगणना गर्दा सबै नागरिकको घर–घरमा पुगेर तथ्याङ्क विवरण लिने, मतदाता नामावली चोक–चोकमा बुथ राखेर संकलन गर्ने सरकारले मतदान गर्न आफ्नै घरमा जानुपर्ने शर्त राख्नु आफैंमा विडम्बनापूर्ण छ ।