३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


३५ हजार २२१ प्रतिनिधि चुन्न १ करोड ७७ लाखले मतदान गर्दै


390
Shares

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

वैशाख ३० गते हुन लागेको निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहबाट कुल ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् । कुल उम्मेदवारमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगरप्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ । निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयमसेवक खटिएका छन् । स्थानीय तह निर्वाचनमा ५ हजार पर्यवेक्षकहरुले पर्यवेक्षण गर्नेछन् ।

स्थानीय तह निर्वाचनको लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० र बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै,गण्डकी प्रदेश १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेश ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेश १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन् ।

प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगर र ८८ गाउँ गरेर १३७, मधेस प्रदेश १ महानगर, ३ उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका गरी १३६ तथा बागमती प्रदेशमा ३ महानगर, १ उपमहानगर, ४१ नगर, ७४ गाउँपालिका गरी ११९ स्थानीय तह छन् ।

गण्डकी १ महानगर, २६ नगर र ५८ गाउँपालिका गरी ८५, लुम्बिनी ४ उपमहानगर, ३२ नगर र ७३ गाउँपालिका गरी १०९, कर्णाली २५ नगर र ५४ गाउँपालिका गरी ७९ तथा सुदूरपश्चिममा १ उपमहानगर, ३३ नगर र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह छन् ।

निर्वाचन आयोगअनुसार प्रदेश १ मा १ हजार १५७, मधेस प्रदेश १ हजार २७१, बागमती १ हजार १२१, गण्डकी ७५९, लुम्बिनी ९८३, कर्णाली ७१८ र सुदूरपश्चिम प्रदेशमा ७३४ वडाहरू छन् ।

निर्वाचनका लागि आयोगले प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेस प्रदेश २ हजार १६३ मतदान स्थल, ४ हजार १८९ मतदान केन्द्र तथा बागमती १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र तोकेको छ ।

गण्डकी १ हजार २५३ मतदान स्थल र २ हजार ३०० मतदान केन्द्र, लुम्बिनी १ हजार ६२९ मतदान स्थल र ३ हजार ८२ मतदान केन्द्र तोकिएका छन् । कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र तथा सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ मतदान स्थल र २ हजार १०३ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका थिए । तीमध्ये ६५ दलहरूले उम्मेदवारी मनोनयन गराएका छन् भने १४ दलले एउटा पनि उम्मेद्वारी मनोनयन नगराएको निर्वाचन आयोगले जनाएको छ ।
.