
विदुर । नुवाकोटमा ५० प्रतिशत मतदान सम्पन्न भएको छ ।
२ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार जिल्लाभर अहिलेसम्म शान्तिपूर्ण रूपले मतदान सम्पन्न भइरहेको छ ।
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’
निर्वाचन अधिकृत गौतमले सबै पालिकाहरूमा २ घण्टाभित्र मतपेटिका संकलन भइसक्ने बताउँदै बेलुकी साढे ८ बजेबाट मतगणना सुरू गर्ने योजना रहेको बताउनुभयाे ।
‘स्थिति सामान्य नै रहिरह्यो भने दुई घण्टाभित्र मतपेटिका पालिकाका केन्द्रहरूमा ल्याउँछौं,’ उहाँले थप्नुभयो, ‘सबै कुरा सही भएको अवस्थामा सबै पालिकाको मतगणना साढे ८ बजेबाट सुरु गर्छौं ।’
जिल्लाभर २ लाख २१ हजार १ सय ६१ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्