२३ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025


म्याग्दीमा ६६ प्रतिशत मतदान


520
Shares

म्याग्दी । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा ६६ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा म्याग्दीबाट ६६ प्रतिशत मत खसेको हो ।

बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ । जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन् ।

जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिक रुपमा विकट क्षेत्र धवलागिरी गाउँपालिका–१ गूर्जाको मतपेटिका शनिबार विहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार बिहान ७ बजेदेखि जारी मतदानमा गठबन्धन र एमाले बीचकै विवाद हुँदा बेनपा–६, थाकनपोखरी केन्द्रमा असहज स्थिति देखिएको थियो । केहीबेर मतदान रोकिएको र पुनः छलफलपछि फेरी मतदान सुरु भएको थियो ।

मतदान प्रक्रियामा सर्वसाधारण, नागरिकहरुले उत्साहपूर्ण तरिकाले सहभागिता जनाएका छन् । जिल्लाको केही मतदास्थलमा वारिसको नाममा राजनीतिक दलहरुबीच सामान्य विवाद भए पनि निर्वाचन प्रक्रिया भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी तथा किरियापुत्रीलाई मतदान गर्नका लागि प्राथमिकता दिइएको थियो । विगतमा निर्वाचनमा जस्तै कुटपिटजन्य गतिविधि यसपटक निर्वाचन अवधिभर नदेखिएको तथा विवादलाई समाधान गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।