३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा, जनप्रतिनिधिप्रति ठूलो आशा र विश्वास


338
Shares

काठमाठौं । छिटफुट घटना बाहेक स्थानीय तह निर्वाचन २०७९ को महायज्ञ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । चुनावमा आमनागरिकले अभूतपूर्व सहभागिता जनाएर लोकतन्त्रप्रति उच्च सम्मान प्रकट गरेका छन् । सबैभन्दा अमुल्य दान मतदान गरेर आम मतदाताले आफ्नो कर्तव्य निर्वाह मात्र गरेका छैनन् भाग्य र भविष्यको दायित्वपूर्ण नासो नेताहरुलाई सुम्पिएका छन् ।

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भयो । जिल्लाको दोगडाकेदार गाउँपालिका कफल्डाडाका ८४ वर्षीय हरिसिंह भाटको मतदान गरेर घर फर्किने क्रममा बेहोस भएर ज्यान गयो । मानौं भाटको अन्तिम घिडघिडो मतदानमा अड्किएको थियो । कोही काखे नानी बोकेर मतदानमा उपस्थित भए त कोही लौरो टेकेर धर्मराउँदै भोट हाल्न सफल भए । कोही मतदाता अक्सिजन सिलिण्डरसहित मत हाल्न पुगेको देख्दा साँच्चै मर्मस्पर्शी थियो ।

नेपाली सामाजिक मान्यता अनुसार मर्दापर्दा भेटिने सरकार नै स्थानीय सरकारको हो । आफू मैन बनेर जनप्रतिनिधि छान्न मतदाताले देखाएको त्याग जनताको नासो हो । मतदाताको यो उत्साह कुनै दल र नेताको अनुहार नभई लोकतन्त्रप्रतिको आस्था हो । मतदाताले मतमार्फत जिम्मेवारीको भारी बोकाएका छन् । मतदानमार्फत जनताले गरेको विश्वास र दिएको जिम्मेवारीलाई राजनीतिक दलहरुले इमान्दारीपूक न्याय गर्नुपर्ने बेला आएको छ ।

राजनीतिक दल र तीनका नेता तथा कार्यकर्ताले विगतमा गरेको काम र देखाएको व्यवहारलाई सच्याएर जनताको मन र विश्वास जित्न नसके आमनागरिकले राजनीतिक दलप्रति सधै एकैनाकको व्यवहार र विश्वास रहला भन्न सकिन्न । जनताले पटक–पटक विश्वास गरेपनि राजनीतिक दल र नेताहरुले न्याय दिन सकेका छैनन् । जनता दशकौंदेखि नाना, खाना र छानाकै समस्यामा अलमलिएका छन् ।

आम नागरिकमा बढ्दो चेतनाको स्तरका कारण आगामी दिनमा राजनीतिक कर्महरुले पटक–पटक यस्तो अवसर पाउनेमा आशंका छ । नागरिकको विश्वास र आशामाथि तुसारापात गरे अवस्था के हुन्छ भन्ने त श्रीलंकामा देखिएको पछिल्लो अवस्थाले छर्लङ्गै पारेको छ ।