
पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सात वटै पालिकामा मतगणना सुरु गरिएको हो ।
पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा गएरातीदेखिनै मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि सुरु भएको छ ।
पर्वतमा ६५. ३८ प्रतिशत मत खसेको थियो । जिल्लाका सात वटै स्थानीय तहमा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ । अहिलेसम्म जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ ।
जसमा नेकपा एमालेका जगबहादुर रोका वडा अध्यक्षमा बिजयी हुनुभएको छ । पछिल्लो परिणाम अनुसार जलजलामा नेकपा एमालेको अग्रता कायमै रहेको छ भने पैंयु गाउँपालिको अध्यक्षमा नेपाली कांग्रसका उम्मेदवार तोरण मल्ल ठकुरीको अग्रता रहेको छ । उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाको अग्रता रहेको छ ।
विहादी गाउँपालिमा वडा नं. १ बाच्छाको मतगणना भैरहेको छ । जहाँ एमालेका ओम कुँवरको अग्रता रहेको छ । त्यसैगरी मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेको मतगणना केहि वेर अघिदेखि सुरु भएको छ । महाशिला गाउँपालिकामा पनि दिउँसे १ बजेदेखि मतगणना सुरु भएको हो ।
सदरमुकाम कुश्मा नगरपालिकामा मतगणना भर्खरै सुरु भएको छ । वडा नंं.१ पाङ र वडा नं. १४ आर्थर डाँडाखर्कको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो । उता फलेवास नगरपालिकामा पनि वडा नं. १ कार्किनेटा र वडा नंं. ११ पाङराङको मतगणना सुरु भएको छ । दुवै नगरपालिकामा मतपरिणाम सार्वजनिक भैसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्