१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरा महानगरको मतगणना सुरु


871
Shares

पोखरा । मतदान सम्पन्नको २३ घण्टापछि मात्र पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ ।

सर्वदलीय एवं सर्वपक्षीय बैठकले दिउँसो २ बजे मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा बस्ने दलका प्रतिनिधिको परिचय, गणकहरुको व्यवस्थापनमा ढिलाइ हुँदा दिउँसो सवाँ ४ बजेदेखिमात्र मतगणना सुरु भएको हो ।

मतपेटिका खन्याउनु अघि निर्वाचन कमिटीले सिल नम्बरबारे जानकारी नदिएको भन्दै केही बेर भनाभनको स्थितिसमेत उत्पन्न भएको थियो ।

पोखराको सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा र जिल्ला समन्वय समितिको सभाहलमा गणना सुरुभएको हो ।

त्यसमध्ये नगर विकास समितिको हलमा १ ठाउँमा र जिससको सभाहलमा २ ठाउँमा मतगणना सुरुभएको हो । पोखराका कुल ३३ वडामध्ये वडा १, १२ र २३ बाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतगणना छिटो सम्पन्न गर्न २ भवनमा गरी कुल ६ स्थानमा मतगणना गरिने छ । महानगरका कुल ३३ वडामध्ये वडा १ देखि ११, वडा १२ देखि २२ सम्म र वडा २३ देखि ३३ सम्मको गरी ३ स्थानमा मतपेटिका सुरक्षित गरी राखिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार कुल ३३ वटा वडा रहेको पोखरामा ६८.९५ प्रतिशत मत खसेको थियो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेको पोखरास्थित निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

कास्कीमा पोखरासहित ५ पालिका छन् । पोखराको मेयरमा २३ र उपमेयरमा ८ जनाबीच प्रतिस्पर्धा छ । कास्कीमा कुल २ लाख ८१ हजार ८ सय ३३ मतदातामध्ये शुक्रबारको मतदानमा ६९.९० प्रतिशत मत खसेको थियो । २०७४ सालको स्थानीय तह चुनावमा कास्कीमा ७५ प्रतिशत मत खसेको थियो । कास्कीमा पोखरा, रुपा, माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपामा गरीमा कुल ७२ वडा छन् ।

यसैबीच, कास्कीका माछापुच्छे« गाउँपालिका, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा मतगणना बिहानदेखि सुरुभएको हो । तीमध्ये माछापुच्छे«, रुपा र मादीमा कांग्रेस र अन्नपूर्ण गाउँपालिकामा एमालेले सुरुआती अग्रता लिएको छ ।