१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यी हुन् मतगणनाको प्रारम्भिक रुझानले बोकेका सन्देशहरू


377
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

मतपरिणामको प्रारम्भिक परिणाममा स्थापित ठूला राजनीतिक दलहरू नै अगाडि देखिए पनि यसपटकको स्थानीय तह निर्वाचनले मुलुकको राजनीतिमा निकै ठूलो सन्देश दिएको छ ।

मतगणनाको प्रारम्भिक परिणाममा मतदातारू ठूला राजनीतिक दलका उम्मेदवारभन्दा एजेण्डाप्रति आकर्षित देखिएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा देशभरी चुनावी तालमेल गर्ने निर्णय गर्यो । तर, गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रबाट लादेको निर्णय अस्वीकार गरेपछि करिब एक तिहाई स्थानीय तहमा मात्र तालमेल भयो ।

केन्द्रबाटै स्वार्थअनुकूल निर्णय गरेर गठबन्धनले आफ्नो इसारामा चल्न कार्यकर्ता र मतदातालाई निर्देशन दिए । जनतालाई रैतीको रूपमा व्यवहार गर्न दवाव दिए । तर, प्रारम्भिक मतपरिणाम हेर्दा नेताहरूको दवावलाई मतदाताले अस्वीकार गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको आयु नै तोक्नुभयो । पाँच दलीय गठबन्धनलाई एमाले एक्लैले हराइदिन हुँकार गर्नुभएका ओलीका प्रत्येक सार्वजनिक अभिव्यक्तिहरू अरुको अस्तित्व नै स्वीकार नगर्ने प्रकृतिका थिए ।

तर, अहिलेसम्म सार्वजनिक मतपरिणाम हेर्दा मतदाताले बढी महत्वाकांक्षामाथि सवक सिकाउने लक्षण देखिन्छ । ठूला राजनीतिक दलका नेताहरूलाई उनीहरूकै मतदान केन्द्रमा पराजित गरेर मतदाताले निकै ठूलो पाठ सिकाएका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका उम्मेदवारलाई जित्न देखिएको सकस मतदाताले सिकाएको पाठको अर्को उदाहरण हो ।

त्यतिमात्र हैन शीर्ष नेताहरूको भित्र्याहा बनेका पूर्वमन्त्रीहरू आफ्नै जन्मस्थानमा प्रभावहीन बनेका समाचार आइरहेका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति मतदातामा देखिएको आकर्षणले राजनीतिमा निकै ठूलो सन्देश प्रवाहित गरेको छ ।

सामाजिक र व्यवसायिक रूपमा सक्रिय तथा स्थानीयको मन छुने एजेण्डा बोकेका उमेदवारप्रति मतदाताको झुकाव देखिएको छ । यसको ज्वलन्त उदाहरण काठमाडौ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र धनगढी उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल हुन् ।

अन्य स्थानीय तहमा पनि राजनीतिक दलका आधिकारीक उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार सफल देखिएका छन् । स्वतन्त्र र युवा उम्मेदवारको पक्षमा देखिएको मतले राजनीतिमा युवापुस्ताको हस्तक्षेपको संकेतलाई स्पष्ट गरेको छ ।

जेल, नेल र आन्दोलन, इतिहासको योगदानभन्दा आमनागरिक तथा मतदाता अब योजनामुखी, परिणाममुखी र आवश्यकतामुखी एजेण्डा केन्द्रीत हुन थालेका स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणामको सन्देश हो ।