
एजेन्सी, चैत्र २७ । अमेरिका एकातिर कोरोना भाइरसको चपेटमा छ भने अर्कातिर यसैवर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको चटारोमा पनि उभिएको छ ।
सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प नै प्रतिष्पर्धी भएपनि विपक्षी डेमोक्रेटका तर्फबाट ट्रम्पसँग कस्ले प्रतिष्पर्धा गर्ला भन्ने सन्दर्भ पनि सकिएको छ ।
डेमोक्रेट्सबाट उम्मेदवारी पाउन मुख्य प्रतिष्पर्धामा रहेका बर्नी स्याण्डर्सले आफू मैदानबाट हटेको घोषणा गरेसँगै पूर्वउपराष्ट्रपति एवं प्रतिष्पर्धाको अघिल्लो होडमा रहेका जो बमाइडेनलाई बाटो खुलेको छ ।
बर्नी स्याण्डर्सले चुनाबी प्रतिष्पर्धा त्यागेको घोषणा गरेसँगै अब डेमोक्र्याटिक पार्टीको अधिवेशनले ७७ वर्षीय बाइडेनलाई उम्मेदवार छान्ने पक्कापक्की भएको हो ।
बुधवार आफ्ना समर्थकहरूसमक्ष ७८ वर्षीय स्याण्डर्सले पार्टीबाट उम्मेदवार बन्न आवश्यक मत प्राप्त गर्ने सम्भावित बाटो बाँकी नरहेको भन्दै आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेका थिए ।
प्रारम्भिक अभियानताका युवा मतदातामा रहेको आकर्षणका कारण स्याण्डर्स अगाडि देखिए पनि केही सातायता बाइडेनले उनलाई पछाडि पारेका थिए ।
आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ का रुपमा चिनाउने स्याण्डर्सले सबैका लागि स्वास्थ्यसेवा, सार्वजनिक कलेजमा निःशुल्क शिक्षा, धनीहरूका लागि धेरै कर र न्यूनतम आयमा वृद्धिका विषयलाई चुनावी मुद्दा बनाएका थिए ।
राष्ट्रपतिका लागि उम्मेदवार बन्ने स्याण्डर्सको यो दोस्रो प्रयास पनि विफल भएको हो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्न खोजेका उनलाई हिलारी क्लिन्टनले पराजित गरेकी थिइन् ।
इन्टरनेटमार्फत् सम्बोधन गर्दै स्याण्डर्सले निर्वाचन अभियान अन्त्य गर्नु धेरै गाह्रो र दुःखद भएको बताए । उनले आफ्नो अभियानले अमेरिका कस्तो देश बन्न सक्छ भन्ने विषयमा जनमत फेरेको र देशमा कहिले नसकिने आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय र वातावरणीय न्यायको संघर्षमा देशलाई एक कदम अगाडि बढाएको दावी गरे ।
आफ्नो अभियानले ३० वर्षमुनिका मात्र नभई ५० वर्षमुनिका मानिसबाट पनि मत प्राप्त गरेको बताउँदै उनले भने, ‘यो देशको भविष्य हाम्रो विचारसँग छ ।’
स्याण्डर्सले बाइडेनलाई बधाई दिँदै आफ्नो प्रगतिशील विचारहरू अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक भन्दै आफूहरु मिलेर पराजित गर्ने आत्मविश्वास पनि प्रकट गरेका छन् ।
स्याण्डर्सको घोषणाको लगत्तै बाइडेनले बर्नी राम्रा व्यक्ति र एक महान् नेता रहेको भन्दैै देशमा परिवर्तनको लागि बोल्ने सबैभन्दा शक्तिशाली आवाज हुन् भनि प्रशंसा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले भने खिसी गर्दै बाइडेन उपराष्ट्रपति हुँदाका राष्ट्रपतिले किन समर्थन नगरेको होलान् भन्दै ‘राष्ट्रपति ओबामाले किन निन्द्रालु जोलाई समर्थन नगरेको भनेर मलाई अचम्म लाग्छ,भनका छन् ।
प्रतिक्रिया दिनुहोस्