१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोरोना संकटविरुद्ध जुध्न प्रधानमन्त्रीले चाँडै सर्वदलीय संरचना निर्माण गरुन्ः अध्यक्ष दाहाल


0
Shares

काठमाडौं, चैत्र २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोनाविरुद्धको लडाईंमा सबै दल र पक्षको सहयोग जरुरी रहेको बताएका छन् ।

इमेज च्यानललाई अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कोरोनाविरुद्धको युद्ध सरकार एक्लैको प्रयासले जित्न सम्भव नभएको भन्दै सर्वदलीय संरचना बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

यस्तो संरचना प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनाउन प्रस्ताव गर्दै अध्यक्ष दाहालले उक्त संरचनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासहित अरु दलका नेताहरुलाई पनि संलग्न गर्नुपर्ने सुझाव दिए ।

कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे सोधिएको प्रश्नमा दाहालले खरिद प्रकरणमा जो जो संलग्न रहेपनि उचित छानबीन गरी दोषीलाई कार्वाही गरिनुपर्ने बताए ।

आफूले बारम्बार प्रधानमन्त्रीसँग यसबारेमा ध्यानाकर्षण गराएको भन्दै उनले नेकपाको हालै सम्पन्न सचिवालय बैठकमा अरु नेताहरुले पनि यसबारे प्रधानमन्त्रीलाई प्रष्ट गर्न आग्रह गरेको जानकारी दिए ।

कसैबाट कमी कमजोरी भएको रहेछ भने पनि यसलाई राजनीतिक दाउपेच बनाउन नहुनेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले पनि कार्वाही गर्ने आश्वासन दिएको भन्दै उनले कारोनाविरुद्ध सरकारले गरेको कामको प्रशंसा गरे । कोरोनाविरुद्धको यस लडाईमा सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताले देखाएको एकताप्रति उनले आभार पनि व्यक्त गरेका छन् ।

कोरोनाको समस्याबाट पार पाएपनि त्यसपछि भयावह अवस्था आउनसक्ने स्वीकार्दै अध्यक्ष दाहालले कामका लागि विभिन्न देशमा गएका नेपालीहरु फर्कने वातावरण बन्यो भने त्यसले सृजना गर्ने समस्या समाधानका लागि तयारी थाल्नुपर्ने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट कोरोना संकटलाई समाधान गर्नेतर्फ केन्द्रित गरिनुपर्ने पनि बताए ।

उनले प्रधानमन्त्री ओली र आफूबीच जुन रुप्मा घनिभूत छलफल जरुरी थियो, त्यसो हुन सकिनरहेको भन्दै आफूले वर्तमान समस्याको समाधानमा प्रधानमन्त्रीलाई सघाउन खोजिरहेको प्रष्टीकरण पनि दिए ।