१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विराटनगर महानगरमा कोइराला र कार्कीको अग्रता कायमै


611
Shares

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्ला कार्कीको निरन्तर अग्रता कायम छ ।

जारी मतगणना अन्तर्गत २३ हजार ९२६ गणना हुँदा कांग्रेसका कोइरालाले ७ हजार ५९१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर कुमार थापाले ५ हजार ८२४ मत ल्याउनु भएको छ । कोइराला १ हजार ६७ मतले अगाडि हुनुहुन्छ ।

यसैगरी, उपमेयरतर्फ एमालेकी कार्कीले ६ हजार ३३३ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार २३७ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा कार्की यादवभन्दा २ हजार ३०० मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याउनु भएको छ भने उपमेयरमा स्वतन्त्रकै नमिता न्यौपानेले १ हजार ४४४ मत ल्याउनु भएको छ ।

विराटनगरमा अहिले वडा नम्बर ३, ४, ५, ६, १३, १४, १५ र १६ को नम्बर वडाको मतगणना भइरहेको छ । गणना भएकामध्ये १, २, १७, १८ र १९ नम्बर वडाको नतिजा आइसकेको छ ।

वडा नम्बर १७ मा जनता समाजवादी पार्टीका समिम कमर मिया निर्वाचित हुनु भएको छ । वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी हुनु भएको छ भने वडा नम्बर १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित हुनु भएको छ । यसैगरी, वडा नम्बर १ मा एमालेका काजी बस्नेत र २ मा कुमार पोखरेल निर्वाचित हुनु भएका छन् ।