
बैतडी । बैतडीका ८ ओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेकोमा जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले तीन तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ ।
नेपाली कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको छ भने एमालेले दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हात पारेको छ । यस्तै, माओवादी केन्द्रले मेलौलीमा र स्वतन्त्रले डिलाशैनीमा जित हात पारेको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी हुनु भएका छन् । यस्तै, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद र उपाध्यक्षमा एमालेका शकुन्तला साउँद विजयी हुनु भएका छन् । मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र उपप्रमुखमा कांग्रेसका पार्वती बोहरा बिष्ट विजयी हुनु भएका छन् ।
यस्तै, दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा कांग्रेसका कौशिला चन्द विजयी भएका छन् । पाटन नगरपालिकाको प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा विजयी हुनु भएका छन् ।
यस्तै, सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएका छन् । सिगासमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी भएका छन् ।
डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी हुनु भएका छन् ।
दोगडाकेदार र पुर्चौडीमा मतगणना कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्