
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।
पछिल्लो परिणाम अनुसार बालेन शाहले ११ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ६२ सय ५९ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ५४ सय ८६ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धीभन्दा निकै अगाडि हुनुहुन्छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल र विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो परिणाम अनुसार दाहालले ६२ सय २ मत पाउनुभएको छ भने सुवेदीले ६१ सय १५ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत पाउनुभएको छ ।
यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँले ७ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३४ सय ७६ मत प्राप्त गर्नुभएको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ । अहिलेसम्म उहाँले ९ हजार मत प्राप्त गर्दा एमालेका सागर थापाले ६६ सय ६७ मत पाउनु भएको छ ।
यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ हजार ४ सय २ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले ७ हजार ९ सय ५४ मत पाउनु भएको छ । वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ८ हजार १ सय ३१ मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ३ हजार ६ सय २२ मत ल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्