
काठमाडौं, चैत्र २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले दातृ निकायका प्रतिनिधिहरुसँग भिडियो कन्फ्रेन्स गरी कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको असरबारे छलफल गरेका छन् ।
अर्थमन्त्री खतिवडाले विश्व बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैक, एशियाली पूर्वाधार विकास बैंक जस्ता बहुपक्षीय विकास संस्था र संयुक्त राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा अर्थमन्त्री डा.खतिवडाले नेपाललाई दिइएको ऋणको भाका सार्न दातृ निकायहरुसँग आग्रह पनि गरेका छन् ।
छलफलमा उनले कोरोनाभाइरसले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासको जानकारी गराएका थिए । छलफलमा कोरोनाले नेपाली अर्थतन्त्र, स्वास्थ्य र जनजीवनमा पारेको र पार्न सक्ने प्रभावबारे छलफल भयो ।
त्यसक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदम र आगामी दिनमा चाल्ने रणनीतिबारे पनि छलफल भयो ।
अर्थमन्त्री खतिवडाले विश्वभर मानवीय र आर्थिक संकट एकसाथ आएकाले यसबाट उम्कन र विकासलाई पुरानै बाटोमा ल्याउन निकै ठूलो सामाजिक र आर्थिक उपाय अपनाइनुपर्ने बताए ।
अर्थमन्त्री खतिवडाले चुनौतीको सामना गर्न नेपालले कुनै कसर बाँकी नराख्ने भन्दै यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको आवश्यकता औंल्याए । परम्परागत सहायता उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भन्दै उनले भने, ‘नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र नेपालजस्ता जोखिमयुक्त देशको संकटको समाधान हुन सक्छ, ।’
विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिए । वैदेशिक ऋणको साँवा–व्याज भुक्तानीको समय केही वर्ष पर सार्न र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउन उनले आग्रह गरे ।
छलफलमा कोरोना रोकथाम, उपचार र पुनस्र्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने निर्णय पनि भएको छ । सो समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिलाई समावेश गर्ने प्रस्ताव नेपालले गरेको छ । नेपालको प्रस्तावमा विकास साझेदारले समर्थन गरेका छन् ।
विकास साझेदारहरुले पनि नेपालले हालसम्म गरेका कार्यको सह्राहना गर्दै अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाएको अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलमा विश्व बैंकका उपाध्यक्ष हाटविग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक च्याञ्योङ रि, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष नेना स्टोजोभिक र एशियाली विकास बैकका उपाध्यक्ष सिजिन चेन सहभागी भएका थिए ।
एशियाली पूर्वाधार विकास बैकका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि.जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपालस्थित विश्व बैकका कन्ट्री म्यानेजर र नेपालस्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल गरिएको थियो ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत सहभागी भए ।
प्रतिक्रिया दिनुहोस्