१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ह्वाइटहाउसमा दोस्रोपटक बुद्ध जयन्ती मनाइयो


143
Shares

काठमाडौं । २५६६ औ बुद्ध जयन्ती ‘अन्तर्राष्ट्रिय वैशाख डे’ अमेरिकाको ह्वाइट हाउसमा दोस्रो पटक मनाइएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एमहफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरूले ह्वाइट हाउस भित्र संयुक्त रूपमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् ।

इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वाङमो डिक्सेले संयोजन गर्नुभएको समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए ।

शान्तिदीप प्रज्वलन गर्दै सेकेन्ड जेन्टलम्यान एमहफले कठिन समयमा शान्ति र समुदाय खोज्नु महत्वपूर्ण हुन्छ भन्दै विश्वासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै वटा बौद्ध परम्परामा ह्वाइट हाउस भित्र बुद्ध जयन्ती मनाउनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाईडनले बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दे बुद्ध जयन्ती शान्ति तथा न्यायको लागि काम गर्न महत्वपूर्ण रहेको बताउनुभयो ।

हाम्रो साझा मानवतालाई पहिचान गर्न, हाम्रो वरपर रहेको प्रकृतिको सम्मान र संरक्षण गर्न, नम्रता र करुणासहित बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने समय भएको पनि उहाँले बताउनुभयो ।

करिब २५ सय वर्ष अगाडि देखि बुद्ध शिक्षाले संसारलाई समृद्ध र बलियो बनाएको भन्दै उहाँले अमेरिकी बौद्धहरूले अमेरिकाको विकासमा योगदान पुर्‍याएको र साझा मूल्यमान्यतालाई अगाडि बढाएको बताउनुभयो ।

गत वर्ष अमेरिकी इतिहासमा पहिलो पटक ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाइएको थियो ।