
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उभिएर अवरुद्ध पारेका हुन् ।
सभामुख अग्नीप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।
एमालेले आफ्नो दलले कारबाही गरेका सांसदहरूलाई सभामुख सापकोटाले सूचना टाँस नगरेसम्म संसद चल्न नदिने अडान सहित अवरोध गर्दै आएको छ ।
सांसद दाहालले सांसदहरूले दलीय ह्वीप मान्नुपर्ने कि नपर्ने भन्ने प्रश्नको समेत निरुपण गर्ने काम सरकारले नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
यता, अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने छलफल र संवादबाट समस्या समाधान हुने उल्लेख गर्दै सभा सूचारु गराउन एमालेका सांसदलाई पटक–पटक आग्रह गर्नु्भएको थियो ।
तर एमाले सांसदहरूको अवरोधका बाबजुद पनि राष्ट्रियसभाको बैठकमा बजेट अधिवेशनसम्बन्धी राष्ट्रपति कार्यालय पठाएको पत्र पढेर सुनाइएको छ । बैठकमा विभिन्न अध्यादेशहरू पेश गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक २०७९ जेठ ५ गते बिहीबार अपरान्ह १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्