१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभामा ८ वटा अध्यादेश पेश


390
Shares

काठमाडौं । प्रतिनिधिसभामा ८ वटा अध्यादेश पेश भएको छ ।

मंगलबारबाट शुरु भएको प्रतिनिधिसभाको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ वटा अध्यादेश पेश भएका हुन् ।

प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गर्नुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेश गर्नुभएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्नुभयो ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नुभयो ।

अधिवेशनमा भएको विश्रामपछि संसद् सञ्चालनमा ल्याउँदा पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रश्ताव पेश गर्नुभयो ।

उक्त प्रस्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नियम निलम्बनको प्रस्तावमा जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।