
झापा । हल्दिवारी गाउँपालिकाको अध्यक्षमा पुनः रबिन्द्र प्रसाद लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार रहनु भएका लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बन्नु भएका डम्वर गिरीलाई २ हजार १९० मतान्तरले पराजित गर्नुभयो । गिरीले ४ हजार ६६६ मत प्राप्त गर्नुभयो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नै उपाध्यक्ष पदमा निर्वाचित मैनालीले ५ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँले नेकपा एमालेकी शान्तादेवी गौतमलाई पराजित गर्नुभएको हो । गौतमले ४ हजार १०६ मत प्राप्त गर्नुभयो ।
हल्दिवारी गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह पालिका हो । पालिकामा निर्वाचित रबिन्द्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रको भाई हुनुहुन्छ ।
२३ हजार ९५७ मतदाता रहेको यो पालिकामा १७ हजार २७३ मत खसेको थियो । राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र समेत रहेको यो पालिकामा पाँच वटा वडा रहेका छन् । जसमा १ र ४ नम्वर वडामा राप्रपाले अध्यक्ष सहित प्यानलै जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्