
एजेन्सी, चैत्र २९ । संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या ५ लाख नाघेको छ ।
२४ घन्टाको बीचमा २ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । ३३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
यद्यपि, विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको जनाएका छन् । ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही सयमपछि ओरालो लाग्ने जानकारी दिएका हुन् ।
सरुवारोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेको बताउँदै कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु कम हुँदै जाने बताए । यद्यपि उनले सामाजिक दूरीसहितका रोकथामका उपायहरु भने जारी राख्नु पर्ने बताए ।
डा. डेबोरा बक्सले महामारी स्थिर भएको संकेत गर्ने राम्रा सूचकहरु देखिएको बताउँदै अझै पनि संक्रमणको उच्च तहमा भने नपुगेको उल्लेख गरेकी हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पूर्वानुमान गरिएभन्दा कम मृत्यु हुने अपेक्षा रहेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण एक लाख मानिसको मृत्यु हुने अनुमान गरिएको थियो ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका न्यूयोर्क, न्यूजर्सी, सिकागो जस्ता शहरमा संक्रमण तथा मृत्यु हुनेको संख्या स्थिर हुन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्