
काठमाडौं । रुसका लागि प्रस्तावित राजदुत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
बुधबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदुत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताउनुभएको हो ।
उहाँले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गर्नुभयो ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।
प्रस्तावित राजदुत तुलाधरले रुसको पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका बस्तुहरू निर्यात गरेर निर्यात व्यापारमा योगदान पु¥याउन पनि आफू लागिपर्ने बताउनुभयो ।
त्यसैगरी बैठकमा स्पेनका लागि प्रस्तावित राजदुत शर्मिला पराजुली ढकालले आफूले राजदूतको रूपमा कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ओमानमा राजदुतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै उहाँले स्पेनमा पनि राजदुतको रूपमा कुनै पनि गल्ती नगर्ने दाहोर्याउनुभयो ।
प्रस्तावित राजदुत ढकालले देश र जनताप्रति उत्तरदायी भएर लिइएको राजदूतको जिम्मेवारीलाई आफूले अन्यथा ठाउँमा दूरुपयोग गर्न नमिल्ने समेत बताउनुभयो ।
प्रस्तावित राजदूत ढकालले हाई स्किल वर्करको व्यवस्थापनको कामलाई आफूले जोड दिने योजना पनि समितिमा पेश गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्