१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सबै महिलालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने सरकारको तयारी


884
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारीको समयमा महिलाले समस्या भोग्ने गरेकाले अब सबै महिलाहरूलाई निःशुल्क प्याडको व्यवस्था गर्ने बताउनुभयो ।

सरकारले अहिले विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । यद्यपि त्यसको गुणस्तरीयतामा प्रश्न उठ्दै आएको छ ।

पहाडका विद्यालयहरूमा महिला छात्रावासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विद्यालय तहका छात्राहरूलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरूमा छात्राबासको व्यवस्था मिलाउनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताउनुभयो ।

उहाँले महिला सेल बनाएर आयोगले महिलाहरूको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष पौडेलले महिलाहरूको सुरक्षाका लागि सुरक्षा निकायहरूमा पनि महिलाहरूको सहभागिता बढाउन सरकार लागिरहेको बताउनुभयो ।