
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी बजेटको नीति तथा कार्यक्रममा सरकारले औद्योगीकरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपालको नारायणगढ, हेटौंडा लगायतका औद्योगिक क्षेत्र आगामी एक वर्षभित्र सञ्चालनमा ल्याइसक्नुपर्नेमा उहाँको जोड छ । मुलुकको अर्थतन्त्रमा समस्या भए पनि निराश हुनुपर्ने अवस्था नरहेको पनि उहाँको निचोड छ ।
‘अहिले हामीले अर्थतन्त्रमा मुख्य दुई वटा समस्या भोगिरहेका छौं । पहिलो समस्या बजारमा तरलताको रहेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले अहिले आयातलाई पनि निरुत्साहित गरिरहेको छ, कुनै पनि मुलुकको अर्थतन्त्रको विस्तार हुने क्रममा अर्थतन्त्रमा यस्ता समस्या भोग्नुपर्छ ।’
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अवसरहरु बढाएर लैजानुपर्ने अग्रवालको सुझाव छ । सरकारले औद्योगीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।
पछिल्लो समय नेपालमा कृषि र उद्योगलाई छोडेर सर्भिस सेवामा लागेकाले अर्थतन्त्र विकास हुन नपाएको अग्रवालले बताउनुभयो । वर्तमान समस्यासँग जुध्न औद्योगीकरणको विकासको लागि स्पेशल इफोर्टको विकल्प नरहेको उहाँको निष्कर्ष छ ।
उद्योगीहरूलाई आकर्षित गर्न अनुदानको व्यवस्था पनि सँगै आउनुपर्ने अग्रवालले बताउनुभयो । वर्तमान उद्योगहरूलाई बचाउन र अनुमति नदिएका व्यापारलाई नियन्त्रण गर्ने कुरामा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
उद्योगहरूको उत्पादन लागत कम गरेर प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि ठोस पहल गर्न उहाँको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्