१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मत परिणाम पार्टीका लागि उत्साहजनक : वर्षमान पुन


637
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभयो ।

नेता पुनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो । पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो ।

‘हाम्रो पार्टीको तर्फबाट भन्दा मत परिणाम उत्साहजनक छ, धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हामी निर्णायक र स्थापित शक्ति हौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो एजेण्डा देशमा स्थापित छ, त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाइ छ ।

गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो । पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने उहाँको भनाइ छ ।