
काठमाडौं । स्थानीय तह निर्वाचन सकिएको पाँच दिन बितिसक्दा पनि मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार लयमा आउन सकेको छैन ।
कर्मचारी चुनावी प्रक्रियामा अलमलिए पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले मन्त्रालय टेक्न भ्याएका छैनन् । मन्त्री नआएपछि नागरिकको प्रवेश पनि पातलिएको छ ।
सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्रीका कार्यकक्ष रित्तो छन् । मन्त्रीहरूको नेमप्लेटमा मन्त्री ‘बाहिर’ लेखिएको देखिन्छ ।
संसद चल्न शुरु गरेको छ । जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । १५ गते बजेट आउने संवैधानिक व्यवस्था छ ।
यस्तो अवस्थामा सरकारका मन्त्रीहरू जित र हारमा अल्मलिनु न्यायसंगत हुँदैन । मन्त्री र कर्मचारी नभएपछि मन्त्रालयका काममा स्वभावत प्रभाव पर्ने भयो नै ।
सामान्य अवस्थामा दैनिक २ हजार बढी सेवाग्राही सिंहदरबार छिर्ने गरेकोमा अहिले संख्या ह्वात्तै घटेको सिंहदरबका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट बताउनुहुन्छ ।
मन्त्री मात्र होइन, कर्मचारीका कुर्सी पनि खाली छन् । उनीहरू काममा फर्कन अझै एक हप्ता लाग्ने बताइएको छ ।
मन्त्रालयहरूमा विशिष्ट पदाधिकारीहरू त छन्, तर तल्लो निकायका कर्मचारी नहुँदा प्रक्रियागत काम अघि बढ्न सकेका छैनन् ।
एकातिर सरकारले हप्तामा दुईदिन बिदा दिने निर्णय गर्नु अर्कातिर २४ मन्त्रालय रहेको प्रशासनिक मुख्यालय शून्य अवस्थामा रहनु पक्कै शोभनीय होइन ।
प्रतिक्रिया दिनुहोस्