७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गठबन्धनलाई निरन्तरता दिने कांग्रेस र माओवादी नेताको भनाइ


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले चुनावी तालमेलले स्थानीय तहको निर्वाचनमा सकारात्मक परिणाम ल्याएको भन्दै आगामी दिनमा पनि गठबन्धनलार्ई निरन्तरता दिने बताएका छन् ।

चुनावी गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले आफूहरूलाई धोका भएको बताइरहँदा कांग्रेस र माओवादीका नेताहरू भने चुनावी परिणामबाट खुसी देखिएका छन् ।

माओवादी नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभयो । परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको उहाँको दाबी छ ।

संसद बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले सोचेजस्तो नतिजा नआएको बताउनुभयो ।

गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने दाबी गर्नुभयो ।

यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताउनुभयो ।

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरूले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताउनुभयो ।

उहाँले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।